‘क्यानसँग नै क्रिकेट प्रेम छैन’

संसद्को विकास समितिले क्रिकेटको पूर्वाधार निर्माणमा प्राथमिकता दिन गत साता युवा तथा खेलकुद मन्त्रालय सहितका निकायलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, “क्रिकेटसँग सम्बन्धित निकायबीच नै समन्वय नहुँदा समस्या भइरहेको छ ।”

नेपाली क्रिकेटबारे युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँगको छलफलबाट के पाउनुभयो ?rabhkndk

क्रिकेटसँग सम्बन्धित निकाय खेलकुद मन्त्रालय, राखेप र क्यानबीच नै समन्वय नभएको पायौं । त्यही कारण पूर्वाधार निर्माण लगायतका काम भएका छैनन् । सबैभन्दा दोषी चाहिं क्यान नै देखिन्छ । क्यानसँग नै क्रिकेट प्रेम छैन ।

किन क्यान बढी दोषी ?

क्यानले लामो समयदेखि कीर्तिपुरको खेल मैदान ‘लिज’ वापतको रकम तिरेको छैन । होटलका पैसा पनि नतिरेको फेला परेको छ । खेलाडीले पाउनुपर्ने रकम पाएका छैनन् । स्रोत साधनको उचित प्रयोग भएको छैन । प्रशिक्षकलाई म्याद नथप्ने जस्ता कमजोरी गरिएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले केही गर्न खोजेको जस्तो देखिन्छ, तर उनको अधिकार सीमित छ ।

कीर्तिपुरस्थित मैदानको स्तरोन्नति तथा मूलपानीको क्रिकेट मैदान के कारणले अड्किएको पाउनुभयो ?

मन्त्रालय, राखेप र क्यान तीनै निकाय दोषी छन् । मूलपानी मैदानको टेण्डर प्रक्रिया नै ढिला भयो । जग्गा मुआब्जाको काम अझै सकिएको छैन । क्यानले लिज बापतको रकम नतिरेकै कारण ‘नो अब्जेक्सन लेटर’ तयार नहुँदा कीर्तिपुर मैदानको स्तरोन्नति हुनसकेको छैन । यसको जवाफदेहिता खेलकुद मन्त्रीले नै लिनुपर्छ । समस्यालाई मन्त्रीले ‘ब्रेक थ्रु’ गर्न सक्नुपर्छ ।

समितिको निर्देशनले केही परिवर्तन ल्याउला ?

पक्कै ल्याउँछ । एक महीनामा अनुगमन गर्छौं । क्यानलाई क्रिकेट विकासको गुरुयोजना प्रस्तुत गर्न भनेका छौं ।

क्रिकेट विकासका लागि के गरिनुपर्छ ?

क्रिकेटलाई राष्ट्रिय गौरवको खेलको मान्यता दिनुपर्छ । यसका लागि पूर्वाधार विकास, एकेडेमी संचालन, खेलाडी तालीम, एक्स्पोजर, निरन्तर राम्रो प्रशिक्षकको व्यवस्था, स्कूल तहबाटै प्रतियोगिता संचालन, अन्तर्राष्ट्रियस्तरका खेल संचालन थालिहाल्नुपर्ने काम हो ।

साप्ताहिक खबरपत्रिका हिमालबाट 

यो अन्तर वार्ता सोमबार , ४ फागुन २०७१ हिमाल खबर पत्रिकामा प्रकाशित छ ।