संविधान निर्माणका लागि नयाँ गठवन्धनको उदय

काठमाडौं । संविधानसभामा नयाँ गठवन्धनको उदय भएको छ । सत्ता गठवन्धनको विस्तारित स्वरुपका रुपमा यो गठवन्धलाई हेरिएको छ ।8_parties-300x222

आज कांग्रेस एमाले सहित आठ दलले संयुक्त विज्ञप्ति दिएर संविधान निर्माणमा एक भएर जाने घोषणा गरेका हुन् । यो गठवन्धनमा दुईजना स्वतन्त्र सभासद पनि छन् ।

उनीहरुले संविधानसभामा भएको तोडफोडको निन्दा गर्दै जनताको जनादेश र संविधानसभाको बहुमतलाई अल्पमतले बन्दी बनाउन मिल्दैन भनेका छन् ।

संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, राप्रपा संसदीय दलका नेता दीपक बोहोरा, माले अध्यक्ष सीपी मैनाली, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशी, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र जनजागरण पार्टीका अध्यक्ष लोकमणी ढकालको हस्ताक्षर छ ।

संयुक्त विज्ञप्तिमा स्वतन्त्र सभासदद्धय अतहर कमाल मुसलमान र चन्देश्वर झाको पनि हस्ताक्षर छ ।

आज संविधानसभाको बैठक सकिएपछि संविधानसभा भवनमै बैठक बसेर यो गठवन्धन तयार गरिएको हो । कांग्रेस एमालेले प्रस्ताव गरेको नौ बुँदे प्रस्तावलाई समर्थन नगरेका माले, राजमो, संयुक्त, परिवार दल र जनजागरणले पनि संविधानसभामा आफूलाई दुई तिहाईको कित्तामा उभ्याएका छन् ।

स्रोतहरुका अनुसार यो गठवन्धनमा राप्रपा नेपालको पनि समर्थन रहेको छ, तर, ‘प्राविधिक कारणले’ संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न नलगाइएको हो ।

संयुक्त विज्ञप्तिसँगै देखा परेको यो गठवन्धन बारेमा एमाओवादीको चर्काे प्रतिक्रिया आउने अपेक्षा गरिएको छ ।

विज्ञप्तिमा संविधानसभामा गरिएको तोडफोडको क्षतिपूर्ति असुल उपर गर्न संविधानसभा अध्यक्षसँग माग गरिएको छ ।

श्रोत : newsvitta