मिटर ट्याक्सीको सेवाको गुणस्तरीयता, प्रभावकारिता ठगि नियन्त्रणका प्रयासहरुका सम्बन्धमा निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा “मिटर ट्याक्सीको सेवाको गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगि नियन्त्रणका लागि भएका प्रयासहरुका” सम्बन्धमा यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नाप तौल विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, उपभोक्ता मञ्च लगायत सम्बद्ध पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिम निर्णय ग¥यो ः
१. सबारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको सार्वजनिक सबारी पञ्जिकरण नगरी सबारी सञ्चालन गर्न नपाउने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।
२. यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरु संस्था दर्ता ऐन अनुसार दर्ता गर्ने र नवीकरण गर्ने कार्य स्थगित गर्न समिति गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।
३. रातको समयमा तथा अस्पताल, एयरपोर्ट लगायतका महत्वपूर्ण स्थानहरुमा, ट्याक्सी ड्राइभरबाट मोलमालाई गर्ने कार्य बढी भएको पाइएको हुँदा यसको अन्त्य गर्न, सबै ट्याक्सीहरुमा अनिवार्य रुपमा मिटर जोडीे Bill Printing System तीन महिना भित्र सबै सार्वजनिक भाडाका ट्याक्सीहरुमा हुने व्यवस्था मिलाउन र यसको समय समयमा गुणस्तरीयता परीक्षण गर्ने कार्य अवलम्वन गर्न र यसमा ठगी गर्नेलाई कडा भन्दा कडा कारवाही हुने व्यवस्था अवलम्वन गर्न समिति यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक महाशाखालाई दिर्नेश गर्दछ ।
४. कुनै पनि ट्याक्सी तथा अन्य सवारी साधनले मिटरमा जान नमाने वा अनावश्यक भाडा असुल गरी ठगी गरेमा तत्काल त्यसको सम्बन्धित निकायमा उजुरी गर्नको लागि टोलफ्री नम्वर राख्ने व्यवस्था मिलाउन समिति यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक महाशाखालाई दिर्नेश गर्दछ ।
५. ट्याक्सीमा जडित मिटर परीक्षण गर्ने र ट्याक्सीको मिटर Validity certification गरेर राखी मिटरको गुणस्तरीयता कायम गराउने व्यवस्था अनिवार्य रुपमा गर्न र यसका लागि आवश्यक उपकरण र जनशक्तिहरुको समेत व्यवस्था मिलाउने तर्फ पहल गर्न समिति यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक महाशाखालाई दिर्नेश गर्दछ ।
६. काठमाडौँ उपत्यकाभित्रका विग्रिएका ट्राफिक लाइटहरु मर्मत संभार गर्ने तथा ट्राफिक लाइट नभएका स्थानहरुमा नयाँ ट्राफिक लाइट १ महिनाभित्र जडान गरिसक्ने व्यवस्था मिलाउन महानगरीय ट्राफिक महाशाखालाई निर्देश गर्दछ ।
७. ट्याक्सीहरुमा अनिवार्य रुपमा सूचनाको स्टिकर टासी यात्रुहरुलाई सुसूचित गर्ने व्यवस्था मिलाउन समिति यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।

८. देशका सातवटै प्रदेशहरुमा Vehicle Fitness Center निर्माण गरी १ महिनाभित्र कार्यान्वयनमा ल्याउन समिति यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।
९. उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी चालकहरुलाई सरकारबाट गरिएका व्यवस्था अनुरुप यात्रुहरुलाई गुणस्तरीय सेवा दिने समबन्धमा अनिवार्य रुपमा अभिमुखीकरण तालिम दिने व्यवस्था मिलाउन समिति यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक महाशाखालाई दिर्नेश गर्दछ ।