आफ्नो प्रस्तावमा काँग्रेस–एमाले अडिग

सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले आफूहरूले प्रस्तुत गरेको छ प्रदेशसहितको प्रस्तावमा सहमतिमा आउन एमाओवादी र अन्य दललाई पुनः आग्रह गरेका छन् ।

सिंहदरबारस्थित ती दलका संसदीय दलको कार्यालयमा भएको अलग अलग अनौपचारिक बैठकमा नयाँ संविधानका लागि आफूहरूले प्रस्तुत गरेको प्रस्ताव नै उपयुक्त हुनेमा जोड दिइएको हो ।COngress-UML-Meeting1

काँग्रेस एमालेले नयाँ संविधानकामा सहमति हुन बाँकी विवादित विषयमा संयुक्त धारणा प्रस्तुत गरेपछि संवाद समिति अनिर्णित भएकाले आन्तरिक रणनीति तय गर्न ती दलका सभासद्बीच छलफल भएको हो ।

काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको उपस्थितिमा सो पार्टीका सभासद्सँगको छलफलमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई लामो समय अन्योलमा नराख्न र सकेसम्म सहमति र त्यसो हुन नसकेमा प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिइएको काँग्रेसका आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले एमाओवादीका अध्यक्षले बाहिर जस्तो अभिव्यक्ति दिए पनि अन्तिम घडीमा सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच संवाद समितिका सदस्य एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारीको अनौपचारिक बैठकले पनि काँग्रेस र एमालेबीचको सहमतिको प्रस्ताव सान्दर्भिक भएको ठहर गर्दै त्यसमै सहमतिका लागि पहल गर्ने तय गरेको छ । सभासद् डा राजन भट्टराईले सहमति हुन नसकेमा प्रक्रियाबाट जानुपर्नेमा पनि जोड दिइएको जानकारी दिनुभयो ।

संविधानसभाले यही कात्तिक १५ गतेभित्र सहमति वा असहमतिसहितको प्रतिवेदन बुझाउन समय दिए पनि हालसम्म समितिले निर्णय लिन सकेको छैन ।

न्युज स्रोत : नेपालजापान डट कम