स्मृतिमा विनासकारी भूकम्प

भूकम्प : विपत्तिबाट सिक्ने अवसर

वैशाख १२- २०७२
घण्टाघरको घडीमा मध्याह्न १२ बज्नै लागेको थियो । त्यसैलाई बायाँ पारेर एक फन्को घुमेँ, अनि लैनचौरतर्फ मोडिएँ ।
भोलिपल्ट हुलाकी राजमार्गको अध्ययन भ्रमणमा निस्कनु थियो । त्यसैको तयारी सकेर म कास्कीको पिकनिकका निम्ति बालाजुतर्फ जाँदै थिएँ ।
सरस्वती क्याम्पस अघिल्तिर पुग्दै के थिएँ, मानिसहरु भागदौड गर्न थाले । मेरो गाडी अघिल्तिर भएका मोटरसाइकलहरु एकपछि अर्को गर्दै लडे । गाडीभित्रबाट मैले पत्तो पाउनै सकिनँ ।

ग्याङ फाइट पो भएछ कि ! त्यो क्षेत्रमा बेलाबेला यस्तो भइरहन्छ ।

भागदौड नरोकिएपछि म गाडी रोकेर ओर्लिएँ । जमिन बेतोडले हल्लिइरहेको थियो ।

विशाल भूकम्प !

हेर्दाहेर्दै अगाडिको पर्खाल ढल्यो ।

भीडमा कोही बोल्यो, नजिकैको घर ढल्दा मान्छे थिचिए । त्यतिखेरसम्म मेरो मोबाइल चालू नै रहेछ । त्यहीँ बस्दाबस्दै खबर आयो, धरहरा पनि ढल्यो ।

ठूलो भूकम्प आउँछ भन्ने पूर्वानुमान हामी सबैलाई थियो, तर यति ठूलो आउला र यति धेरै क्षति होला भन्ने आँकलनसम्म थिएन । धरहरा नै ढल्यो भनेपछि काठमाडौं महानगर पक्कै सद्दे छैन । झन् जिल्लाहरुतिर कस्तो भयो होला ! म कहालिएँ ।

मुटु जोडजोडले धड्किन थाल्यो ।
म त्यहाँ बसिरहन सक्ने कुरै थिएन । जाँदाजाँदै अर्को शक्तिशाली झट्का । उफ् !

अगाडिको बाटो बन्द थियो । वैकल्पिक बाटो पछ्याउँदै म शिक्षण अस्पताल महाराजगञ्ज पुगेँ । जहीँतहीँ घाइतेहरुको आर्तनाद र कोलाहल थियो । शव ल्याउने क्रम पनि सुरू भयो । भूकम्पमा सुरक्षित युवा र अरु मानिसहरु स्वयंसेवामा होमिइसकेका थिए । मैले केही डाक्टरहरुसित छोटो कुरा गरेँ । ज–जसले जसरी व्यवस्थापन गर्न सक्छ, तत्काल गर्ने छलफल भयो ।

म वीर अस्पतालतर्फ लागेँ ।
बाटामा एकपछि अर्को गर्दै दुःखद विनाशलीला देखिए । मूल सडकछेउ नै यस्तो छ । झन् असन, इन्द्रचोक, पाटन, भक्तपुरका साँघुरा बस्तीहरुको अवस्था कस्तो भयो होला !

गोङ्गबुबाट फोन आयो । धन्न मोबाइल चलिरहेको रहेछ ।
त्यहाँका धेरै घर–होटेल सखाप भएछन् । उद्धार टोली तत्काल पठाउन फोनमा अनुरोध आयो ।
वीर अस्पताल । त्यहाँ अत्यन्तै धेरै घाइते ल्याइसकिएको थियो । अस्पतालभित्र ठाउँ अभाव हुँदा बाहिरै उपचार सुरू भयो । विद्यार्थी, स्वयंसेवक जोडतोडले खटिएका थिए । जतिसक्दो समन्वय गरेर उद्धारमा लाग्न आग्रह गरेपछि म सीधै गृह मन्त्रालय पुगेँ । एकैछिनमा कार्यबाहक प्रधानमन्त्री (गृहमन्त्री) वामदेव गौतम आइपुग्नुभयो । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकारीहरु छिर्नुभयो । शनिबारको दिन परे पनि मन्त्रालयका उच्च अधिकारीहरु एकैछिनमा जम्मा हुन सक्नुभयो ।

तत्काल उद्धारको काममा जुट्ने, जहाँ जहाँ बढी क्षति भएको छ, ती स्थानमा परिचालित हुने निर्णय गरियो । उद्धारका लागि सबैभन्दा तयार हुनुपर्ने प्रहरीको विपद्् व्यवस्थापन टोली बसेको चारखालस्थित भवन नै भत्किसकेको रहेछ । देशको विपद्् व्यवस्थापन गर्ने टोली नै यति कमजोर जगमा बसेको छ, अरुको के हाल होला !
त्यहाँ बसेर विपद्् व्यवस्थापनका लागि गर्न सकिने जति कामहरु गरिसकेपछि अबेर राति मात्र घर–परिवार र आफन्तहरुको सम्झना हुनगयो । सबैतिर फोन लगाएँ । उनीहरु सुरक्षित रहेछन् ।

भूकम्प र त्यसलगत्तैका दिनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको भूमिका अभूतपूर्व थियो । अझ स्वयंसेवकहरुको जुन समर्पण देखियो, त्यसको जहिले पनि खुला मनले सराहना गर्नैपर्छ । घरमै बसेर कसैले केही गरेन भन्नु र फिल्डमा उत्रिनेहरुले कसरी काम गरिरहेका छन्, त्यसलाई हेरेर मूल्याङ्कन गर्नु फरक कुरा हो । हाम्रो सुरक्षा निकायका कतिपय युनिटले ‘चेन अफ कमान्ड’को समेत परवाह नगरी स्वतःस्फूर्त रुपमा विपद्् व्यवस्थापनमा रातदिन खटेको पनि देखियो । सुरक्षा निकायसित जे जति साधन–स्रोत थियो, त्यसको अधिकतम उपयोग गरेर उनीहरु नखटेका भए भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्न कति सम्भव हुन्थ्यो, यसै भन्न सकिन्न । सुरूका एक दुई दिन केही कठिनाइ भए पनि त्यसपछिका दिनहरुमा प्रभावित सबै क्षेत्रमा राहत र उद्धार टोली पु¥याइएकै हो । हाम्रा अस्पताल, चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले पनि आआफ्नो ठाउँबाट सक्दो सेवा पु¥याएकै हुन् ।

भूकम्प गएको दिन साँझतिर मात्र थाहा भयो, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोरखालगायत पहाडी जिल्लाहरुमा मानवीय र भौतिक सम्पत्तिको अत्यन्त ठूलो क्षति भएछ । गोरखा केन्द्रविन्दु नै भएको हुनाले त्यहाँको क्षतिबारे केही अनुमान त गरिएकै थियो, तर अन्य जिल्लामा पनि अनुमानभन्दा निकै ठूलो क्षति भएको थाहा भयो । सिन्धुपाल्चोकमा त हाम्रो अनुमानको कुनै अर्थै भएन । सदरमुकाम चौतारासहित ग्रामीण बस्तीहरुमा अथाह क्षति भयो । सबै जिल्लाको अवस्था बुझिसकेपछि थाहा लाग्यो, बरू राजधानीमै अनुमानभन्दा कम क्षति भएको रहेछ ।

नेपालीहरुको आपसमा मिलेर बस्ने भावना कति ठूलो रहेछ भन्ने पछिल्लो अनुभूति यही भूकम्पका क्रममा हुन पुग्यो । यो मानवीय संवेदनाभन्दा अझै माथिको विषयवस्तु थियो । विपत्तिमा परेको बेलामा एकअर्कालाई सघाउन, अर्काको पीडामा मलम लगाउन र स्वतःस्फूर्त रुपमा उद्धारमा जुट्न हामी नेपालीलाई कसैले सघाउन नपर्ने रहेछ । तर यति मात्रै पूर्ण निष्कर्ष होइन, यसको अर्को पाटो पनि छ ।

ढुङ्गामाटाले बनेका हाम्रा ग्रामीण घरहरु बसोवासका दृष्टिले असाध्यै असुरक्षित रहेछन् । अबका दिनमा हामीले यस्ता कमजोर प्रविधिका घरहरु बनाउने गल्ती दोहो¥याउनु हुँदैन भन्ने पाठ पनि अहिलेको भूकम्पीय विनाशले सिकाएको छ ।

संसारकै ठूला र विनाशकारी भूकम्पमध्येको यो भूकम्प संयोगवश दिउँसो गएकाले क्षति कम भयो । कदाचित् राति आएको हुन्थ्यो भने कस्तो विनाशलीला मच्चिन्थ्यो होला ! शनिबार नगएर अरु दिन गएको भए कति विद्यार्थीहरु अकालमै मर्थे होलान् ! कल्पना गर्दा पनि कहाली लाग्छ । अर्को कुरा, यो भूकम्प बर्खामासमा आएको भए पनि क्षति अहिलेको भन्दा निकै चर्को हुन सक्थ्यो । त्यतिखेर उद्धार र राहत वितरणमै पनि गम्भीर समस्या आउन सक्थ्यो । यस्ता थुप्रै सीमितताहरु बीच बिदाको दिन दिउँसो गएको भूकम्पले दुःखको मात्रा केही मात्रामा भए पनि घटाएकै हो । प्रकृति र समयको त्यो सहुलियत हाम्रो जस्तो गरीब देशले नपाएको भए दोब्बरभन्दा बढी क्षति हुने थियो ।
तर यो त ‘भगवान् भरोसा’ भयो । मुख्य कुरा भूकम्पीय उच्च जोखिममा रहेको पर्वतीय शृङ्खलाभित्र अवस्थित हाम्रो देशको पूर्वतयारी हो । कुनै पनि बेला भूकम्प जान सक्छ भन्ने भूगर्भविद्हरुको पूर्वानुमान हुँदाहुँदै हामीले जोखिम घटाउने उपाय किन खोज्न सकेनौं ? के हामी त्यसो गर्न सक्दैनथ्यौं ? कि हाम्रो नेतृत्व र शासन संयन्त्रहरुमा त्यो दूरदर्शिता र इच्छाशक्ति भएन ?

यस्ता प्रश्न र छट्पटीहरुको जवाफ वैशाख १२ को महाभूकम्प वरिपरि मात्रै खोजेर पुग्दैन । यो त प्रकृतिले मानिससामु रचेको इतिहास हो, जसको क्षति हाम्रो सार्थक प्रयत्नले घटाउन सकिन्छ । त्यसका लागि चाहिन्छ विकास र प्रगतिको सुस्पष्ट खाका एवं त्यसलाई छरितो र पारदर्शी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता ।

विकास र समृद्धिको खोजीमा दशकौंदेखि तिर्खाइरहेको नेपाली समाजले निर्माण र प्रगतिको यो बहसमा एक पटक भाग लिनैपर्छ । नत्र आधुनिक समाज बनाउने हाम्रो यात्रामा ठोस योगदान हुन सक्दैन । मैले आजसम्म चल्तीका कतिपय डिस्कोर्सहरुभन्दा केही भिन्न ढङ्गले विकास र समृद्धिमाथि छलफल अघि बढाउन चाहेको छु । तपाईं यो बहसमा सहभागी बन्न सक्नुहुन्छ । अझ नयाँ पुस्ताले समृद्ध नेपालको मेरो आकांक्षालाई समात्न सक्छ र यसलाई गति दिन सक्छ भन्ने बिश्वास छ ।

समृद्ध नेपाल पुस्तकको अंश बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *