रवीन्द्र अधिकारीले नबिर्सिने आन्दोलन

अहिलेको नेपाली राजनीतिक पुस्ता विभिन्न आन्दोलनबाट स्थापित पुस्ता हो । विभिन्न समयमा राजनीतिक आन्दोलन हुँदैनथे भने देशले अहिलेको राजनीतिक अवस्था पाउन सक्दैनथ्यो भन्नेमा दुईमत नहोला । यही पुस्ताका एक आशा गरिएका एमाले नेता तथा सांसद् हुन्– रवीन्द्र अधिकारी । अधिकारीले विभिन्न समयका आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाएका मात्र छैनन्, केही आन्दोलनको नेतृत्व पनि गरेका छन् । अहिलेचाहिँ आन्दोलनका कुनकुन घटना सम्झन्छन् त उनी ? नयाँ पत्रिकाका विश्वास खड्काथोकीसँग उनले सेयर गरेका छन् :

पहिलोपटक पक्राउ पर्दा १८ वर्षको थिएँ
मैले क्याम्पस ज्वाइन गर्दा देशमा पञ्चायत व्यवस्था थियो । पिएन क्याम्पसका हामी विद्यार्थीहरू पनि आन्दोलन गर्ने मुडमा पुगिसकेका थियौँ । क्याम्पसमा भर्ना भएलगत्तै म पनि सक्रिय रूपमा राजनीतिमा लाग्न थालेँ । त्यो अवधि मेरा लागि जीवनको अत्यन्त महत्वपूर्ण अवधि थियो । यस्तो किन भने म अध्ययनका लागि क्याम्पस भर्ना भएको म देशमा परिवर्तनका लागि पनि आफूलाई समाहित गर्ने योजनामा पुगिसकेको थिएँ ।

म त्यतिवेला १८ वर्षको थिएँ । तर, विद्यार्थी आन्दोलनमा होमिइसकेको थिएँ । केही समयमा नै मैले विद्यार्थी संगठनको नेतृत्व पनि गर्न थालेँ । तर, त्यो संगठनको मात्र नेतृत्व थिएन, सँगसँगै चलिरहेको राष्ट्रिय आन्दोलनको पनि नेतृत्व थियो ।

पञ्चायतको अन्त्य हुनुपर्ने र बहुदल स्थापना हुनुपर्ने माग राखेर पिएन क्याम्पसबाट हामी सक्रिय रूपमा आन्दोलनमा लाग्न थाल्यौँ । तर, त्यही समय प्रहरीको धरपकड पनि अत्यन्त बढेको थियो । पञ्चायतविरुद्ध संगठित भएर आन्दोलनमा लागेकाले नै हामीलाई प्रहरीले
पक्राउ गर्‍यो ।

०४६ साल फागुन ४ गते दोस्रोपटक म फेरि पक्राउमा परेँ । म मात्र होइन, प्रहरीले त्यतिवेला झलक सुवेदीलगायत अन्य विद्यार्थी नेतालाई पनि पक्राउ गरेको थियो । पोखरामा विद्यार्थी राजनीतिका साथी मात्र होइन, पार्टीका नेताहरू पनि पक्राउ पर्नुभएको थियो ।

यो गिरफ्तारीको घटना अहिले पनि मलाई समयसमयमा सम्झना हुन्छ । किनकि त्यतिवेला प्रहरीले हामी दर्जनौँलाई जेलको एउटा सानो कोठामा कोचेको थियो । प्रशासनले दुईजनालाई एउटै हतकडी लगाइदिएको थियो । हामीलाई शौच गर्न जाँदा पनि सँगै जानुपर्ने बाध्यता थियो ।

तर, केही समयमै देशमा बहुदल आयो ।  तर विडम्बना ! बहुदल आए पनि म, झलक सुवेदीलगायत पक्राउ परेका केही साथीहरू कस्टडीमै बस्न बाध्य भयौँ । खासमा प्रशासनले हामीविरुद्ध मिल्नेजति सबैजसो मुद्दा लगाएको थियो । बहुदल नै आए पनि ती मुद्दाको छिनोफानो हुन केही समय लाग्यो । त्यसैले, देशमा बहुदल आइसकेपछि पनि झन्डै एक महिना मैले जेलमै बिताउनुपर्‍यो ।

क्याम्पसमा कांग्रेस–कम्युनिस्टको लडाइँ
हामीले गरेको आन्दोलनको प्रतिफलस्वरूप देशले बहुदलीय व्यवस्था  त पायो तर पिएन क्याम्पसमा यसले ठूलो परिवर्तन ल्याउन सकेन । झन्झन् क्याम्पसमा द्वन्द्वका घटना बढ्न थाले । यो विरोधाभासचाहिँ विद्यार्थी संगठनबीच थियो । कांग्रेसनिकट विद्यार्थी संगठन र हाम्रो संगठनबीच बारम्बार झडप भए । कहिले एउटा टोलीले अर्कोलाई ढुंगामुढा ग¥यो भने कहिले अर्कोले । यस्तो क्रम कहिले क्याम्पसभित्रै हुन्थ्यो भने कहिले बाहिर ।

यो विवादको चुरो कुन पार्टी ठूलो भन्नेमा थियो । कांग्रेस ठूलो कि कम्युनिस्ट ठूलो भन्नेमा बारम्बार बहस हुन्थे । यही विषयमा झगडा पनि हुन्थे । आफूलाई ठूलो प्रमाणित गर्न कांग्रेसनिकट साथीहरू भौतिक आक्रमणमा पनि उत्रिनुहुन्थ्यो । यता, हाम्रा साथी पनि कांग्रेसका साथीमाथि त्यसैगरी खनिनुहुन्थ्यो । यी दुई संगठनको लडाइँमा धेरै साथीहरू घाइते हुनुभयो । यो लडाइँ कति चर्को थियो भने मारामारकै स्थिति पनि सिर्जना भयो । यो एउटा डरलाग्दो क्षण थियो तर मचाहिँ दुवै पक्ष मिलाउने तर्कमा अडिग रहिरहन्थेँ । म हाम्रा साथीहरूलाई पनि सम्झाउँथेँ, अर्को पक्षलाई पनि यसले कुनै फाइदा नहुने भन्थेँ । त्यसैले त्यो आन्दोलनका घटना पनि म बिर्सिन सक्दिनँ ।

विद्यार्थीका पक्षमा आन्दोलन
बिस्तारै म पूर्ण रूपमा राजनीतिमा होमिइसकेको थिएँ । यसबाट म पर रहन सकिनँ । हामीले क्याम्पसमै विद्यार्थीका लागि उपलब्ध सेवासुविधाका विषयमा कुरा उठाउन थाल्यौँ । त्यहीबीच क्याम्पसमा स्ववियु निर्वाचन भयो । हाम्रो संगठनबाट मैले स्ववियु सभापतिका लागि उम्मेदवारी दिएँ । म विजयी पनि भएँ । स्ववियु सभापति भएपछि मलाई जिम्मेवारी बढेको अनुभूति भयो ।

त्यही समयमा हामीलाई लाग्यो, पढ्ने विद्यार्थीका लागि राज्यले विशेष सहुलियत दिनुपर्छ । त्यसमा पनि सार्वजनिक सवारीमा त उनीहरूलाई कुनै न कुनै सहुलियत चाहिन्छ । हामी थोरै विषयमा माग राख्ने तर, त्यसलाई पूरा गराएरै छाड्ने अठोटका साथ लागेका थियौँ । यो त्यही समय हो जतिवेला विद्यार्थीलाई सार्वजनिक सवारीमा सहुलियत दिनुपर्ने माग भयो । हामीले यो विषयको उठान विद्यार्थीलाई ५० प्रतिशत छुट दिनुपर्नेबाट गर्‍यौँ । तर, यस्तो सिस्टम सुरुवातै भएको थिएन । त्यसैले हामीले त्यो मागलाई ३३ प्रतिशतमा घटायौँ ।

त्यतिवेला सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । विद्यार्थीले उठाएका माग भएकाले पनि होला सुरुमा सरकारले यसबारे कुनै सरोकारै राखेन । तर, हामी यो माग पूरा गराउनेमा निश्चिन्त भइसकेका थियौँ । त्यसैले, हामीले देशभर यो आन्दोलन फैलाउने योजना बनायौँ । त्यसका लागि तीनदिने नेपाल बन्दको आह्वान ग¥यौँ । देशका अन्य सहरका विद्यार्थीहरूले पनि यसमा सहमति जनाउनुभयो । सबैको सहयोग र समर्थन भएकाले नै हुनुपर्छ, आन्दोलनले देशभर आँधीबेहरीको रूप नै लियो ।

तर, सरकार हामीलाई दमन गर्ने पक्षमा थियो । उसले हामीविरुद्धसडकमा प्रहरी उतार्‍यो । सडकमा भएका दोहोरो झडपमा कयौँ साथी घाइते हुनुभयो ।

आन्दोलनले झन्झन् उग्र रूप लिँदै गएपछि सरकार पनि सोच्न बाध्य भयो । उसले हामीसँग वार्ता गर्न थाल्यो । म आफैँले प्रधानमन्त्री कोइरालासँग तीनपटक वार्ता गरेँ । अन्त्यमा सरकार घुँडा टेक्न बाध्य भयो । त्यसपछि विद्यार्थीहरूले सार्वजनिक सवारीमा ३३ प्रतिशत छुट पाउन थाले । डेढ महिना चलेको त्यो आन्दोलनले दिएको उपलब्धिले मलाई खुसी बनायो । यो आन्दोलनको सम्झना मलाई अहिले पनि हुन्छ किनकि त्यो मेरो विद्यार्थी राजनीतिक कालखण्डको महत्वपूर्ण आन्दोलन थियो ।

दरबारविरुद्ध हजारौँ हस्ताक्षर
यो २०५७ सालको कुरा हो । म अनेरास्ववियु केन्द्रीय अध्यक्षमा निर्वाचित भएको थिएँ । म निर्वाचित भएको धेरै लामो समय भएको थिएन, काठमाडौंमा एउटा दुःखद घटना भयो । एक दिन बिहान गायक तथा संगीतकार प्रवीण गुरुङको हत्या भएको गाइँगुइँ चल्न थाल्यो । त्योसँगै जोडिएको थियो– प्रवीणको हत्या तत्कालीन शाहज्यादा पारस शाहले गरेका हुन् ।

हामीले बिस्तारै यो घटनाबारे बुझ्न थाल्यौँ । तेस्रो दिन हामी झन्डै निष्कर्षमा पुग्यौँ, ‘प्रवीणलाई ठक्कर दिएको गाडी पारस शाहले नै चलाएका थिए ।’ पारसको गाडीले गराएको यो दुर्घटना पहिलो थिएन ।

हामीचाहिँ विद्यार्थी राजनीतिबाट नै किन नहोस्, कानुनी राज्यको परिकल्पना गरिरहेका थियौँ । तर, साउनको महिना भएकाले पानी परिरहेको थियो । तैपनि हामीले सुरु गरेको आन्दोलनमा सयौँले सहभागिता जनाए ।

एकातिर यो आन्दोलन सुरु गर्दा थ्रेट आइरहेको थियो भने अर्कोतिर हामी झन्झन् दृढ थियौँ । हामी अबेरसम्म अखिल सचिवालयको बैठक बस्थ्यौँ र आन्दोलनलाई जारी राख्ने निर्णय गथ्र्यौं ।

यो त्यस्तो समय थियो जतिवेला दरबारविरुद्ध कसैले पनि आवाज उठाउन सक्दैनथे । तर, हामीले प्रवीणको हत्याबारे छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्ने योजना बनायौँ । रत्नपार्कमा हामीले आन्दोलन सुरु मात्र गरेनौँ, पारस शाहविरुद्ध हस्ताक्षर संकलन पनि सुरु ग¥यौँ । सुरुमा हामीले आन्दोलन गर्ने कुरामा आशंका गरेका र आन्दोलनले केही हुन सक्दैन भन्नेले पनि आन्दोलन सुरु भएपछि साथ दिन थाल्नुभयो । हस्ताक्षर कार्यक्रममा उत्साहजनक सहभागिता हुन थाल्यो ।

त्यतिवेला मैले राजाका नाममा चिठी लेखेँ । सुरु भइसकेको हस्ताक्षर र त्यो चिठी सँगै बुझाउने कुरा भयो । मानिसहरू कति आजित भएका रहेछन् भने हामीले सुरु गरेको हस्ताक्षर कार्यक्रममा उनीहरू थानका थान कपडा लिएर आए । एक सातामा हामीले पाँच लाख २७ हजारजनाको हस्ताक्षर संकलन गर्‍यौँ । त्यो हस्ताक्षर दरबारमा बुझाउने हाम्रो योजना थियो ।

हामीले सोचेका थियौँ, दरबारमा हस्ताक्षर बुझाउने दिनमा केही हजार मानिसको साथ हामीलाई हुनेछ । तर, त्यो दिन त झन्डै ५० हजार मानिसहरू आन्दोलनमा सहभागी भए । त्यसपछि हामीले सहिदगेटबाट दरबारतिर जुलुस बढार्यौँ । हजारौँको जुलुस देखेकाले चोकमा हामीलाई रोक्न बसेका प्रहरी पनि पछाडि हटे ।

हामीले अन्त्यमा त्यो हस्ताक्षर दरबारमा बुझाएरै छाड्यौँ । दरबारका मुख्यसचिव नै आएर त्यो हस्ताक्षर बुझेका थिए । केही समयपछि तत्कालीन राजा वीरेन्द्रले त्यसको रेस्पोन्स पनि गरे । उनले घटनाबारे छानबिन गर्न प्रधानमन्त्रीलाई पत्र पठाए । त्यो पत्रको बोधार्थमा अनेरास्ववियु अध्यक्ष पनि उल्लेख थियो ।

यो आन्दोलन म किन पनि बिर्सिन सक्दिनँ भने यो गणतन्त्रको वीजारोपण थियो । हामीले उठाएको मागअनुसार पारस शाहलाई कारबाही त भएन तर संसद्मा दरबारका विषयमा पनि छलफल हुन थाले । मलाई लाग्छ, यो तत्कालीन समयका लागि एउटा ठूलो उपलब्धि थियो ।

दोस्रो जनआन्दोलन
०६० सालमा म कास्की एमालेको सचिव भएँ । कार्यकाल सम्हालेर पार्टीलाई बलियो बनाउन लागेँ । बिस्तारै देशमा राजाविरुद्ध आवाज उठ्न थाले । देशमा गणतन्त्र स्थापना गर्न सबै दल नजिक आउन थाले । ०६२ सालमा त संयुक्त रूपमा आन्दोलन नै सुरु भयो । पार्टी सचिवका नाताले कास्कीमा यो आन्दोलनमा कुनै कमी नहोस् भनेर म लाग्न थालेँ । आन्दोलन सुरु भएसँगै हामी सडकमा उत्रियौँ । शारीरिक रूपमा जतिसुकै कष्ट भए पनि म सडकमा निस्किन छाडिनँ । आन्दोलनमा जानु र गणतन्त्रको पक्षमा नारा लगाउनु हाम्रो दिनचर्या भयो । त्यतिवेला राज्यलेसडकमा प्रहरी उतारेर व्यापक दमन गरेको थियो । कतिसम्म भने प्रहरीसँग झडप हुनु, लठ्ठी खानु त दालभात खाएसरह भयो ।

यो आन्दोलनको क्रममा म दुईपटक पक्राउ परेँ । प्रहरीले घेरा हालेर मलाई पक्राउ गरेको थियो । तर, पक्राउ नै परे पनि आन्दोलनमा सहभागी हुने विषयमा हामीले कुनै कन्जुस्याइँ गरेनौँ । रातारात प्रहरीले घरमा छापा हानेर प्रक्राउ पनि गथ्र्यो । तर, त्यही आन्दोलनले देशमा गणतन्त्र स्थापित गर्‍यो । जनताको शासन आएकाले ती पीडा बिर्सिन गाह्रो भएन ।

– See more at: http://www.enayapatrika.com/2016/11/107530#sthash.oToWtF5i.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *