मन परेको किताब रातभरि पढ्छु

अघि भदौ १७, २०७३ काठमाडौं : नेकपा एमाले नेता रवीन्द्र अधिकारीको हिजोआज अर्को परिचय पनि बनेको छ- लेखक। उनले लेखेको पुस्तक ‘समृद्ध नेपाल’ को दोस्रो संस्करण पनि बजारमा आएको छ। संसदको विकास समितिका सभापति अधिकारी व्यस्त समय तालिकाकाबीच पुस्तक पढ्न छुटाउँदैनन्। पत्रपत्रिकामा विकास निर्माणका विषयमा उनका लेखहरु पनि प्रकाशित भइरहन्छन्।

नेता अधिकारीको पुस्तक अध्ययनबारे थाहाखबरका जयसिंह महराले गरेको कुराकानी : 

प्राथमिक विद्यालय तहमा कक्षागत गीत लगायत पाठ्यक्रममा भएका कविता कण्ठस्थ हुन्थे। कथासमेत कण्ठस्थ पार्थें। पाँच कक्षा पास गरेपछि मात्र पाठ्यक्रम बाहिरका किताब पठ्न पाएँ। त्यतिबेला घरमा भएका स्वस्थानी र महाभारत लगायत धार्मिक पुस्तक पढेँ। स-साना कथा र कविताका किताबहरु पनि पाइन्थे, ती पनि पढेँ।  कक्षा चढ्दै गएपछि रसियन साहित्य र प्रेम साहित्य पढियो। नेपाली प्रेम साहित्य र प्रगतिशील रसियन साहित्य पढ्दा मिठो लाग्यो। त्यसले साहित्यिक कृति पढ्ने बानी बस्यो। त्यतिबेला मेरो रुची किताब संकलनमा थियो। मसँग धेरै किताब हुन्थे। म अरु सपिङ गर्नभन्दा पनि किताब किन्न रमाउँथे। पैसा पायो कि किताब किनिहाल्ने बानी थियो।

देउसी खेलेर पुस्तकालय

स्कुल पढ्दैको कुरा हो। हामी साथीहरु मिलेर गाउँमा लाइब्रेरी बनाउनुपर्छ भन्ने सोच आयो। तर किताब किन्न त पैसा चाहियो। त्यसका लागि हामीले पुस्तकालय निर्माण गर्ने भनेरै देउसी खेल्यौं। पुस्तकालय निर्माण गर्ने अभियान नै चलायौं र पुस्तकालय बनाउन सफल भयौं।  हामी साथीहरुबीच कसले बढी पुस्तक पढ्ने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो। एसएलसी पास गरिसकेपछि कोर्स भन्दा पनि बाहिरका किताब बढी पढ्न थाले।

हिजोआज संसदको कामले फुर्सद कम हुन्छ। पहिलाजस्तो हप्ताको दुई तीनचोटी पुस्तकालय जान भ्याउँदिन। तर हप्ताको एकपटक जसरी पनि पुस्तक पसल जान्छु। पुस्तक पसलमा राम्रो किताब देख्यो कि किन्न मन लागिहाल्छ।

rabi

एक महिनामा नेपाली लेखकले लेखेका मात्र किताब किन्न करिब ५ हजार रुपैयाँ लाग्छ। विदेशी लेखकले लेखेका किन्यो भने त्यसमा बढी नै थप्नुपर्ने हुन्छ। तर किताब किन्न कै लागि पैसाको परवाह गरिदैन।

एकचोटी दिल्लीमा मैले ३ हजार रुपैयाँको किताब किनेको थिएँ। जुन मेरो बढी पैसा परेको किताब हो। त्यो किताब एक हप्तामै पढिसिध्याएँ।  पहिला गाडीमा अहिले राती पढ्छु काठमाडौंबाट पोखरा पुग्दा कम्तीमा ६ देखि ७ घण्टा लाग्ने। अनि पोखरा जाँदा बाटोमा एउटा किताब पढेर सिध्याउँथे।

अहिले गाडीमा पत्रपत्रिका मात्र पढिन्छ। किताब पढ्न सक्दिन। अहिले रातीको समयमा मात्र किताब पढ्छु। कुनै किताब साह्रै मन पर्‍यो भने रातभरीमा पढिसिध्याउँछु।

किताब गिफ्ट

कसैको बिबाह र जन्मदिनमा गिफ्ट दिनपर्‍यो भने किताब मन पर्नेलाई किताबै गिफ्ट दिन्छु। राम्रो किताब किनेर गिफ्ट दिएर पुस्तकमार्फत सम्बन्ध राख्न मन लाग्छ। बजारमै नपाइने र आफूसँग नभएको किताब भने म दिन्न। बिपीको आत्मवृत्तान्त, मदन भण्डारीको जनताको बहुदलीय जनवाद, म्याक्सिम गोर्कीको आमा, लु सूनका कथा,मोदनाथ प्रश्रित, प्रदीप नेपालका किताब किनेर दिन्छु।

ra

पढ्दाखेरी एक एक लाइन पढ्छु। त्यसरी नपढ्दा सन्तुष्टी हुन्न। अण्डरलाइन गर्छु। पहिले पहिले पढेका किताबको नोट पनि लेख्ने गर्थे, अहिले गर्दिन।

किताब फिर्ता आउलान् भनेर आश गर्दिनँ

मेरो घरमा ५ देखि ७ हजार पुस्तकको संकलन छ। राम्रो किताब माग्ने धेरै हुन्छन्। त्यतिबेला आफूसँग मात्र भएको र बजारमा नपाइने किताब कसैलाई दिन्न।किताब मागेर लाने अनि फिर्ता नगर्ने घटना यति भैसक्यो कि अब त फिर्ता आउने आश नि गर्दिन र फिर्ता आउला भनेर दिदाँ नि दिन्न। कोही कोहीले भने फिर्ता ल्याउनुहुन्छ।

बजारमा सजिलै नपाइने किताब फिर्ता आएनन् भने थकथकी लाग्छ र कहिले त निन्द्रा नि लाग्दैन।

यो अन्तर्वार्ता थाहा संचारमा प्रकासित छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *