ग्रेटर अनि स्मार्ट : पोखरा

देशले राजनीतिक परिवर्तनका धेरै घुम्ती पार गरेको छ, अब आर्थिक रूपमा परिवर्तनको घुम्ती पार गर्नु छ। नेपालमा सबै खालका राजनैतिक परिवर्तन पूरा भएका छन् र संघीय गणतान्त्रिक संविधान जारी भइसकेको छ। अब आवश्यकता छ त समृद्ध समाज निर्माणको। यसका लागि पुरानो राज्य संयन्त्र र संरचना बाधक भन्ने महसुस आमरूपमा भइसकेको छ र राज्य पुनर्संरचनाको संघारमा छ। स्वाभाविक रूपमा यो एउटा कठिन मोड हो। यो मोड पार भइसकेपछि हाम्रो समाजले दु्रततर गतिमा आर्थिक विकास गर्नुको विकल्प छैन।

 %e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be

विश्वकै सुन्दर सहर पोखरा महानगरपालिका बन्ने धुनमा छ। स्थानीय तहमा पोखरा भन्नाले अहिले पोखरा उपमहानगरपालिका मात्र बुझिने भए पनि कास्कीभन्दा बाहिरले यसलाई यत्ति सीमित ढंगले बुझ्दैन। पोखरा र आसपासका महत्त्वपूर्ण गन्तव्य र सम्पदाहरूको पहिचान पोखरासँगै जोडिएर आउँछन्। त्यसकारण अब पोखरा ग्रेटर पोखरामा रूपान्तरण हुनैपर्छ।
हाल पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका दुई स्थानीय निकाय कायम छन्। तर अब यी दुई अलग रहेर समृद्धि हात पार्न सकिँदैन, पोखरा र लेखनाथको एकीकृत विकासबाट मात्रै यो क्षेत्रलाई सम्मृद्ध बनाउन सकिन्छ। पर्यटन, सञ्चार, सहरी विकास, यातायात व्यवस्थापन, जनशक्ति विकास र सामाजिक परिचालन लगायत पूर्वाधार विकासमा यी दुईलाई अलग राख्न सकिन्न। त्यसैले लेखनाथ र पोखरा जोड्ने गरी चक्रपथ बनाउने योजना त्यही एकीकृत विकासको पहल हो। पोखरा भनेको लेखनाथ र पोखरा मात्रै पनि होइन, आसपासको क्षेत्र अझै व्यापक छ। यस क्षेत्रको दिगो विकासका लागि अब बृहत् पोखरा (ग्रेटर पोखरा) को अवधारणा जानै पर्छ।
विकासको विद्यार्थी भएकोले संसारका अन्य मुलुकले कसरी विकास गरेका छन् भनेर हेर्ने मौका पाएको छु। जति ठूला नगरपालिका बनेका छन् उति नै प्रगति गरेका छन्। यो सोचले संसारभर स्थानीय तहलाई टुक्रयाउने होइन, जोड्ने क्रम चलेको छ। ठूलो कुरामा सम्भावना ठूलै हुन्छ, बसाइँसराइ पनि नगरपालिकाहरूमै हुन्छ। अध्ययनहरूले भनेका छन्– अबको २५ वर्षमा ८० प्रतिशत जनसंख्या सहरमा हुन्छ। जुन सहर ठूलो हुन्छ, त्यहाँ धेरै सम्भावना हुन्छन्, मानिस त्यहीं बसाइँसराइ गर्छन्। धेरै जनसंख्या भएको व्यवस्थित सहर सबैभन्दा विकसित सहर बन्छ। त्यसैले ग्रेटर पोखरा अबको आवश्यकता हो। अब ग्रेटर पोखराका लागि भविष्य हेरेर योजना बनाउनुपर्छ। एकातिर आधुनिक बस्तीहरू बनाउन सकिन्छ भने अर्कोतिर प्राकृतिक स्रोतको उचित संरक्षण गर्न सकिन्छ। लेखनाथ र पोखरालाई जोड्दा एकातिर पूर्वाधार विकासको एउटै योजना बनाउन सकिन्छ भने अर्कोतिर सहरको एकीकृत विकास गर्न सकिन्छ। हामी पोखरालाई स्मार्ट सिटी बनाउने योजना बनाउँदै छौं। ग्रेटर पोखरा बनाएपछि यो सपना झन चाँडै पूरा हुने विश्वास छ। पोखरा बृहत् भयो भने बल्ल संसारका सहरसँग प्रतिस्पर्धा गर्ने स्मार्ट सिटी बनाउन सकिन्छ। फेवातालसँगै लेखनाथको सात तालको संरक्षण र विकासका लागि एकीकृत योजना एउटै निकायले बनाउनु जत्तिको प्रभावकारी अरू केही हुन्न।
पोखरा प्रदेश नम्बर ४ को राजधानी हो, यसबाट लेखनाथ अलग रहन सक्दैन। आसपासको क्षेत्रलाई समेट्दै हामी लेखनाथ र पोखरासम्म फैलियौं भने लमजुङ, तनहुँ, स्याङ्जा र पर्वत जोडिएर अगाडि जान सक्छौं। त्यसपछि गोर्खा, मुस्ताङ र मनाङ जोडिन्छन्। लेखनाथमा विमानस्थल छैन, पोखरामा विश्वविद्यालय छैन भन्नुभन्दा हामीसँग ‘विश्वविद्यालय छ, हामीसँग विमानस्थल छ, हामी एउटै हौं’ भन्नुको गर्व बेग्लै हुन्छ।
लेखनाथ र पोखरा दुवैतिर केही समस्या छन्। मुख्य रूपमा मनोविज्ञानको प्रश्न हो। लेखनाथ पहिलादेखि नै हेपिएको छ, पछाडि परेको छ। हामी लेखनाथलाई नयाँ पोखरा बनाउन खोजिरहेका छौं तर यो ठाउँ लामो सयमदेखि पोखराको छायामा परेको छ। दुइटा नगरपालिका हुँदा पनि पोखराको मेयरले हेप्थे होलान्। जुनसुकै कार्यक्रममा पनि पोखराका मान्छे हुने तर लेखनाथ नसमेटिने कुरा त छँदै थियो। लेखनाथ नगरपालिका बनाइसकेपछि यसको परिचालन अलि प्रभावकारी भएको छ। नयाँ बनेका नगरपालिकामध्ये राम्रो लेखनाथले नै गरेको छ। साना सहरी खानेपानी आयोजना नगरपालिकाको आफ्नै नेतृत्वमा राम्रोसँग पूरा भयो। उद्योग वाणिज्य संघ लगायतको काम पनि प्रभावकारी भएको छ। सामाजिक परिचालन पनि प्रभावकारी देखिन्छ। त्यसले गर्दा पोखरासँग मिसिादा हाम्रो पहिचान लोप हुन्छ कि भन्ने चिन्ता छ। लेखनाथभन्दा त हामी अलगै थियौं, केही न केही परिचय थियो भन्ने मनोविज्ञान पनि छ।
पञ्चायतकालदेखि पछाडि पारिएका लेखनाथवासीको भावना स्वाभाविक हो। बाटो त हाम्रैबाट जान्छ तर हामी पछाडि पर्‍यौं भन्ने मनोविज्ञान छ। त्यसका निम्ति पोखरा दोषी छ कि छैन? बहस यहाँनेर जरुरी छ। फेवातालमा मात्र सीमित पर्यटनले केही गर्नेवाला छैन। त्यो बेगनास–तालसम्म फैलिन सकेन भने, बेगानास–तालमा अर्को लेकसाइड बनाउन सकिएन भने, रूपाताललाई संरक्षण गरेर त्यहाँ अर्को लेकसाइड बनाउन सकिएन भने पर्यटकको पोखरा बसाइ लम्ब्याउन सकिँदैन।

सात ताल संरक्षण गरेर हरेक ताल किनारलाई लेकसाइड बनाउन सक्यौं भने मात्र हामीले सोचेको ग्रेटर पोखरा बन्छ। बृहत् बसपार्क लेखनाथको लामेआहालमा राख्ने हाम्रो योजना छ। कोत्रेमा पुल बन्दै छ। यी सबैबाट पोखरा, लेखनाथ र आसपास सबैलाई फाइदा पुग्नेछ।
त्यसो गरियो भने पोखरा आसपासका गाउँहरूको अर्को ढंगले विकास हुन्छ र ग्रेटर पोखरा बन्छ। त्यतिबेला अहिलेको भन्दा आधुनिक पोखरा बन्छ। समग्रमा स्मार्ट सिटी बन्छ। लेखनाथमा पर्यटनको विकास सोचेजस्तो किन हुन सकेन भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। जति छलफल गरे पनि निष्कर्ष के हो भने लेखनाथ र पोखरालाई जोडेर मात्र समग्र विकास गर्न सकिन्छ। हामी कोरलादेखि सुनौलीसम्म उत्तर दक्षिण राजमार्ग ल्याउँदै छौं। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै छौं। हामी अलगअलग हौं भन्ने सोचेर यो सबैको लाभ लिन सम्भव हुँदैन। पहिलेको मनोवृत्तिअनुसार सोच्नुको कुनै अर्थ छैन, नयाँ सोचाइबाट काम गर्नुपर्छ। अन्तत: लेखनाथ पोखराको एकीकृत विकासको विकल्प हामीसँग छैन। कामको क्षेत्र बाँड्ने र क्षमताअनुसार गुणस्तरीय सार्वजनिक सेवा दिने कुरा मुख्य हो।
लेखनाथ र पोखराको एकीकृत विकास गरी स्मार्ट सिटी बनाउन सकिन्छ। के पोखरालाई स्मार्ट सिटी बनाउन सकिन्छ? स्मार्ट सिटीका केही पूर्वाधार हुन्छन्, जुन पूरा गर्न सकेमा हामी स्मार्ट सिटी बन्न सक्छौं। मुख्यरूपमा संसारमा जहाँतहीं यातायातलाई एक नम्बरमा राखिन्छ। स्मार्ट सिटीमा सार्वजनिक यातायात नियमित चल्नुपर्छ। एकजना यात्रु नभए पनि यातायात चलिरहनुपर्छ। त्यसले निजी यातायातको बाध्यता घटाउँछ। सामान्यत: मान्छेहरू यातायात भाडाका लागि कार्डमा अभ्यस्त हुन्छन्। त्यही कार्डले बैंकमा काम गर्छ, विद्युत्मा काम गर्छ, रेस्टुराँमा काम गर्छ, बजारमा काम गर्छ, सबै ठाउँमा काम गर्छ। यसका लागि स्मार्ट पूर्वाधार बनाउनुपर्छ। पूर्वाधार बलियो भयो भने स्मार्ट सिटी बनाउन सकिन्छ। दोस्रोमा सञ्चार सेवा पर्छ। स्मार्ट सिटीमा सञ्चारको यस्तो प्रणाली हुन्छ कि त्यहाँ गुणस्तरीय टेलिफोन सेवा, मोबाइल सेवा, द्रूतगतिको इन्टरनेट हुन्छ। वाईफाई फ्री क्षेत्रहरू हुन्छन्। पूर्वाधारका हिसाबले यसलाई पनि पहिलो मानिन्छ तर धेरैजसो ठाउँमा यातायातलाई नै पहिलो भनिएको पाएँ। सञ्चारको पूर्वाधार बलियो भएन भने आइफोन भएर पनि केही हुँदैन। तेस्रो हो विद्युत्। स्मार्ट सिटीमा चौबीसै घन्टा विद्युत् हुनुपर्छ। सबै कुरा किनबेच कार्डबाटै हुन्छ। स्कुल र कलेजमा पठनपाठनका लागि पनि डिजिटल प्रविधिको प्रयोग हुन्छ। यी सबैका लागि विद्युत्को नियमित उपलब्धता पूर्वसर्त हो। स्वास्थ्यमा पनि परिवर्तन हुन्छ। कतिसम्म भने घरमै बसेर पनि तपाईं डिजिटल माध्यममार्फत डाक्टरसँग परामर्श गर्न सक्नुहुन्छ। अहिलेजस्तो अस्पतालमा नाम लेखेर लाइन लगाउनुपर्दैन। पर्यटनमा पनि परिवर्तन हुन्छ। एप्सहरूमा सहरबारे सूचना हुन्छन्। कोही हाम्रो सहरमा आउँछ भने गाइड नभए पनि हिँड्न सक्ने र गन्तव्यमा पुग्न सक्ने हिसाबले सबै क्षेत्रलाई प्रविधिसँग जोडिएको हुन्छ। सबै क्षेत्रहरूलाई प्रविधिमैत्री बनाएको सहर स्मार्ट सिटी हो। पूर्वाधारसँगै नागरिक पनि स्मार्ट हुन्छन्। त्यही अनुसारको शिक्षा र संस्कृतिको विकास हुन्छ।
पोखरा र लेखनाथलाई छुट्याएर पनि स्मार्ट सिटी बनाउन सकिन्छ तर त्यो प्रभावकारी हुँदैन। लेखनाथ र पोखरालाई जोड्ने गरी चक्रपथ बनाउँदै छौं। पोखरामा स्मार्ट कार्ड चल्छ तर लेखनाथमा चल्दैन भन्ने हुँदैन। जति भूभाग ओगट्छ, त्यो ठाउँमा सबै कुरा प्राप्त हुने बनाउनुपर्छ। बैंक, एटीएम, चक्रपथ, बाटोमा सार्वजनिक शौचालय, पेट्रोल पम्पहरू आदि समान मापदण्ड र स्तरका हुनुपर्छ। स्मार्ट सिटीको योजना बनाउन र कार्यान्वयन गर्न ठूलो जनसंख्यामा सजिलो हुन्छ। आर्थिक हिसाबले पनि जति ठूलो जनसंख्या त्यति सस्तो सेवा हुन्छ। धेरैजना मिलेर बस्दा खर्च घट्छ। पोखरालाई माथि उल्लेख गरिएका चरित्रसहितको स्मार्ट सिटी बनाउन सम्भव छ। तर त्यसका लागि हामीले हाम्रो छाती ठूलो बनाउनुपर्छ, हामी एकआपसमा जोडिएका छौं भन्ने यथार्थ बिर्सिनुहुन्न। आफूलाई लेखनाथवासी र पोखरावासी भनेर हामीले अलगअलग सोच्नै हुन्न। जोमसोम, पञ्चासे, बन्दीपुर, बाग्लुङ कालिका, मुक्तिनाथ आदि त पोखरा हुन भन्ने वातावरण बनाउनुपर्नेमा लेखनाथ पोखरा अलग भन्नै सकिन्न। केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेल सेवा सञ्चालनको बहस चलको छ। ग्रेटर पोखरा बनायौं भने यसको लबिङ गर्न हामीलाई अझै आत्मबल मिल्नेछ, त्यसैले प्राकृतिक सुन्दरताले सम्पन्न पोखरा भ्यालीलाई अब ग्रेटर पोखरा बनाउनुको विकल्प छैन। अब हाम्रो एउटै नारा बन्नुपर्छ– ग्रेटर पोखरा, स्मार्ट पोखरा।

यो लेख कान्तिपुर दैनिकमा प्रकासित छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *