किन हुन सकेन विकास ?

रबीन्द्र अधिकारी व्यवस्थापिका संसद्को विकास समितिका सभापति हुन्

रबीन्द्र अधिकारी व्यवस्थापिका संसद्को विकास समितिका सभापति हुन्

दुई विशाल छिमेकी भारत र चीनको बीचमा रहेको भूपरिवेष्टित नेपालमा विकासका सन्दर्भमा निकै ठुल्ठूला बहस र चर्चा परिचर्चा भएका छन् । विगतमा राजाले देशलाई एसियाली मापदण्डमा पुर्‍याउनेदेखि लिएर विकासको मूल फुटाऊँ भन्नेसम्मका नारा लिएर विकासका हल्लाखल्ला गरे । त्यसैगरी राजनीतिक दलहरूले पनि विकास, विकास भनिरहे र अझै भन्दै पनि छन् । तैपनि, हाम्रो देशमा खासै विकास भएको देखिन्न । यसका पछाडि पक्कै पनि केही न केही कारण त छन् नै । यस आलेखमा तिनै कारण केलाउने जमर्को गरिएको छ ।

भूराजनीतिअनुकूल विकास मोडल बन्न नसक्नु
हाम्रो देश नेपाल जस्तो भूराजनीतिक अवस्थितिमा रहेको छ, त्यसलाई आत्मसात् गरेर हामीले विकासका मोडल तय गर्न सकेनौँ । हामीले छिमेकी भारतसितको निर्भरतालाई घटाउँदै जानुको साटो उल्टो बढाइरह्यौँ । चीनसँगको सम्बन्धमा पनि हामी खुम्चिरह्यौँ । अर्थात् हामीले आफूलाई विशाल दुई छिमेकीको घेराबाट बाहिर फैलाउने कोसिस गरेनौँ । हामीले राष्ट्रिय एकताको मुद्दालाई बलियो बनाउन सकेनौँ । जसले गर्दा हामीमा व्यापारदेखि अन्य विकास निर्माणका कार्यमा बाहिरी प्रभाव रहिरह्यो । छिमेकी भारत हाम्रो विकासमा त्यति सकारात्मक हुन सकेन । यसले पनि हाम्रो मुलुकको विकास निर्माणमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पार्‍यो । जलस्रोतको धनी देश भन्दाभन्दै पनि हामीले आफ्नो आवश्यकताअनुसार आफैँले केही गर्न सकेनौँ । हामीले गर्न नसकिरहेको समयमा त्यसैअनुरूप हाम्रो छिमेकी पनि सहयोगी बनिदिन सकेनन् । जसले गर्दा भूपरिवेष्टत देश नेपाल उत्तर र दक्षिणतर्फ फैलिन सकेन । खासगरी सुगौली सन्धिपछिको हाम्रो राजनीतिक परिवेश कुनै न कुनै रूपमा हामी भारतको छायामा छौँ र रहनुपर्छ भन्ने मानसिकता बोकेर अगाडि आयो । हामीमै त्यस्तो मानसिकता विकसित भइसकेपछि भारतले पनि त्यसैअनुरूप व्यवहार गर्नु नौलो भएन । त्यसैले पनि हाम्रो देशको विकास अघि बढ्न सकेन ।

हाम्रो राजनीतिक कमजोरी
यथार्थमा राजनीति केका लागि भन्ने प्रश्नमाथि हामीकहाँ खासै विचार विमर्श भएन । यथार्थमा राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ । राजनीति मुलुक परिवर्तन र स्वतन्त्रताका लागि हुनुपर्छ । हामीले लामो समय राजनीतिक स्वतन्त्रताका लागि खर्च गर्‍यौँ । राणाशासन र पञ्चायतभरि स्वतन्त्रताका लागि लड्यौँ । पछि प्रजातन्त्रकालमा पनि गणतन्त्रका लागि लड्यौँ । यस्ता राजनीतिक संघर्षका अनेकन् शृंखला हामीले पार गर्‍यौँ । हाम्रा बढीभन्दा बढी मुद्दा राजनीतिसित जोडिए । हाम्रा राजनीतिक दलहरू पनि तिनै मुद्दामा केन्द्रित भए । राजाहरूले देशमा विकास गर्‍यौँ त भन्थे । तर, उनीहरू व्यक्तिगत सोख र भोगविलासमा लिप्त भए । उनीहरू आफ्नो सत्ता जोगाउने विषयमा मात्र केन्द्रित देखिए । विकास निर्माण उनीहरूको प्राथमिकतामा कहिल्यै परेन ।

त्यसैले हाम्रो देशको राजनीति कहिल्यै विकासमुखी हुन सकेन । देशको समृद्धि र जनताको समृद्ध जीवनका लागि हाम्रो राजनीतिले खासै सोचेन । खालि राजनीतिको विकासमा मात्र राजनीतिक वृत्तको ध्यान केन्द्रित भयो । हाम्रो राजनीतिले देशलाई समृद्धिको मार्गमा डोर्‍याउन सक्ने नेता, मुलुकको विकासको अगुवाइ गर्न सक्ने कार्यकर्ता, जनप्रतिनिधि, त्यसअनुसारको ‘ओरियन्टेसन’, विचार, जनचेतना आदि दिनै सकेन । यसले गर्दा हामी ठीक बाटो हिँड्न सकेनौँ ।

राजनीतिक अस्थिरता
हाम्रो देशमा विकास नहुनुको पछाडि राजनीतिक अस्थिरता पनि जिम्मेवार छ । राजनीतिक अस्थिरताले गर्दा अत्यन्तै छिटोछिटो सरकार परिवर्तन हुने र एउटाले सुरु गरेको काम अर्काले रोकिदिने होडबाजी नै चल्ने गरेको छ । यसले गर्दा हामी सबैको ध्यान राजनीतिक विषयमा मात्र केन्द्रित भयो । हाम्रो शिक्षाले पनि विकास र समृद्धिलाई डोर्‍याउन सकेन । हाम्रो र शिक्षा र राजनीतिले उद्यमशीलताको विकास गर्नै सकेन । जागिरको मात्रै खोजी गर्ने उद्यमशीलताको विकासमा चासो नदिने शिक्षाले देशको विकास गर्न सक्दैन ।

निर्वाहमुखी सोच
हामी सबै निर्वाहमुखी सोचबाट माथि उठ्न सकेनौँ । सबैलाई खान, लाउन पुगेकै छ भने मरिलानु के नै छ र भन्ने सोच हामीमा विकास भयो । हामीमा ठूला अपेक्षा पैदा नै भएनन् । हाम्रा अपेक्षा साँघुरा घेराभित्रै कैद भए । जसले गर्दा हामी अघि जान सकेनौँ । हामीमाझ ठूला संकट पनि आइपरेनन् । हामीले नयाँ–नयाँ र कठिन समस्या खासै ‘फेस’ गर्नुपरेन । जसले गर्दा हामीले नयाँ दिशामा जाने कठोरतम निर्णय लिनुपर्ने अवस्था पनि आइपरेन । हाम्रो निर्वाहमुखी सोचले निर्वाहमुखी अर्थतन्त्र निर्माण गर्‍यो । त्यसैले गर्दा हाम्रो विकास र समृद्धिका सपना पनि निर्वाहमुखी घेराबाट बाहिर निस्कन सकेनन् । हाम्रा सम्पूर्ण सपना पानीका फोका साबित भए ।

कमजोर सरकार र कमजोर ब्युरोक्रेसी
मुलुक विकासका निम्ति सरकार र ब्युरोक्रेसी बलियो हुनुपर्छ । तर, हाम्रो सरकार र ब्युरोक्रेसी जुन रूपमा जति बलियो हुनुपर्ने हो, त्यस्तो हुन सकेन । कुनै पनि देशको विकासका लागि सरकार र ब्युरोक्रेसी बलियो हुनुपर्छ । नियम, कानुन र व्यवस्था पनि विकासमैत्री हुनुपर्छ । तर, देशका नियम, कानुन विकासमैत्री हुन नसक्दा हाम्रो देशको विकास कानुनी झमेलामा अल्झिरह्यो । हामीले आफैँलाई अल्झाएर आफ्नै देशको विकास रोकिरहेका छौँ । विकास निर्माण कार्यसँग सम्बद्ध विभिन्न निकायबीच समन्वयको पनि अभाव छ ।

rabindra-cap

आफूआफूमै समन्वय गर्न नसकेर पनि हामी अघि जान सकिरहेका छैनौँ । हामीले वैदेशिक लगानी ल्याउनुपर्छ त भन्दै आएका छौँ, तर त्यसका लागि भरपर्दो वातावरण बनाउन भने सकेका छैनौँ । देशको विकासका लागि निजी क्षेत्र पनि इमानदार हुन सकेको छैन । हामी सबै शंकैशंकामा हिँडिरहेका छौँ । क्षणिक लाभ–हानिमा रमाउने, शंकैशंकामा दौडिने प्रवृत्तिले गर्दा हाम्रो विकास ओझेलमा परिरहेकोमा शंका छैन । विकासका लागि प्रस्ट भिजन, व्यवस्थापन र योजना चाहिन्छ । अनि, त्यस्तो योजना कार्यान्वयन गर्न डिपिआर आवश्यक हुन्छ । तर, हामीले त्यो सब गर्नै सकेनौँ ।

कमजोर औद्योगिक विकास
औद्योगिक विकासको एउटा चरण पार गर्नुपर्नेमा हामीले त्यो गर्न सकेनौँ । त्यसका लागि सरकारी नीति नै बाधक थियो । हाम्रा औद्योगिक उत्पादन बाहिरी बजारमा सजिलै जान सक्दैनन् । त्यसका लागि सन् १९५० लगायतका सन्धि बाधक छन् । यस्तोमा आफैँले आफ्ना उत्पादनको संरक्षण गर्ने हिसाबले औद्योगिक विकास गर्ने बाटोमा हामी जान सकेनौँ ।

प्रविधि विकास र उपयोगमा पछाडि
कुनै पनि देशको विकासमा प्राविधिक विकास र त्यसको उपयोगको ठूलो भूमिका हुन्छ । त्यसका लागि सूचना प्रविधिको समुचित विकास आवश्यक हुन्छ । यसलाई हामीले सही समयमा उपयुक्त ढंगबाट सदुपयोग गर्न सकेनौँ । हामीले भरपर्दो पूर्वाधार विकास गरेर त्यसको सदुपयोग गर्न सकेनौँ । यसलाई व्यापारिक उद्देश्यले हामीले अघि लान सकेनौँ, खालि सुविधाका हिसाबले उपयोग गर्‍यौँ । हाम्रो देशमा कृषि, पर्यटन, जलस्रोत जस्ता विकासका पर्याप्त सम्भावना छन् । हामीले आफ्नै उपभोगका लागि समेत पर्याप्त विद्युत् उत्पादन गर्न सकेका छैनौँ । व्यावसायिक उत्पादन त टाढाको विषय भयो । कृषिमा व्यावसायिकता ल्याउन पनि हामीले सकिरहेका छैनौँ । पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि हामीले खासै धेरै गर्न सकेका छैनौँ ।

भएका केही विकास
हाम्रो देशमा विकास हुँदै भएन भन्ने होइन । सामाजिक जागरण र चेतनाको हिसाबबाट कतिपय ‘इन्डिकेटर’ चाहिँ विकसित देशलाई समेत उछिन्ने अवस्थामा पुगेका पनि छन् । ‘पर क्यापिटा इनकम’ का आधारमा हामी विकासमा निकै पछि छौँ । तर, ह्याप्पिनेस, डेमोक्रेसी, मानव अधिकार आदिका हिसाबबाट हेर्दा भने हामीकहाँ पक्कै धेरै विकास भएको छ । महिला अधिकार र समावेशिताका क्षेत्रमा पनि निकै ठूलो विकास भएको छ । तर, त्यस्ता विकास निर्माणमा टेकेर त्यसभन्दा अघि जाने र दुनियाँसित प्रतिस्पर्धा गर्ने सन्दर्भमा भने हामीले विकास गर्न सकेका छैनौँ । त्यसैले हामीकहाँ आजसम्म गणनायोग्य विकास हुन नसकेको हो ।

यो लेख नयाँ पत्रिका दैनिकमा प्रकासित छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *